अहिल्यै खेल्नुस्

म्यारिजका नियम

यो साइटमा म्यारिज जुन नियमले खेलिन्छ, त्यो यहाँ पूरै लेखिएको छ। घर-घरमा नियम अलि फरक हुन्छ, त्यसैले हाम्रो टेबलले कुन नियम मानेको छ, यहीँ भनिएको छ।

खेलाडी र पत्ती

  • 2 देखि 5 जना। सबै आ-आफ्नै लागि खेल्छन्।
  • 52 पत्तीका तीन गड्डी मिसाइन्छ: जम्मा 156 पत्ती, हरेक पत्ती तीनवटा।
  • छापिएका जोकर: तीनवटासम्म म्यान र एउटा सुपरम्यान। झटपट खेलमा चारैवटा हुन्छन्, जम्मा 160 पत्ती। साथीको टेबलमा म्यान कति राख्ने र सुपरम्यान राख्ने कि नराख्ने, टेबल खोल्नेले छान्छ।

बाँड्ने

सबैलाई एक-एक गर्दै 21 पत्ती बाँडिन्छ। बाँकी पत्ती घोप्टो पारेर गड्डी बनाइन्छ। सुरुमा कुनै पत्ती खोलेर राखिँदैन, त्यसैले पहिलो खेलाडीले गड्डीबाटै तान्छ।

एक पालो

  1. एउटा पत्ती तान्नुस्: गड्डीको माथिबाट, वा भर्खर फालिएको पत्ती।
  2. एउटा पत्ती फाल्नुस्। भर्खर टिपेको पत्ती त्यही पालोमा फाल्न पाइँदैन।

माल हेरेको खेलाडीले साधारण पत्ती फाल्नुको साटो गेम पनि गर्न सक्छ (तल गेम गर्ने हेर्नुस्)।

सेटहरू

सिक्वेन्स

एउटै चिह्नका लगातार तीन वा बढी पत्ती। एक्का तल (A♠︎2♠︎3♠︎) वा माथि (Q♠︎K♠︎A♠︎) बस्छ, तर एउटै सिक्वेन्समा दुवैतिर होइन। जोकर नभएको सिक्वेन्स प्योर सिक्वेन्स हो।

टनेला

तीनवटै उही पत्ती: उही नम्बर, उही चिह्न। तीनवटा म्यान पनि टनेला हुन्छ। टनेलामा जोकर मिसाउन पाइँदैन।

बाँड्दै परेको टनेला विशेष हुन्छ। तपाईंको पहिलो पालो आएपछि त्यो आफैँ हातबाट निस्केर टेबलमा बस्छ। हरेक टनेलाले मालमा 5 पोइन्ट थप्छ र माल हेर्न चाहिने तीन प्योर सेटमध्ये एउटा गनिन्छ। त्यसलाई फाल्न वा भत्काउन पाइँदैन। खेल्दै जाँदा बनेको टनेला प्योर सेटका रूपमा देखाउन त पाइन्छ, तर 5 पोइन्ट पाइँदैन।

ट्रायल

एउटै नम्बरका तीन वा चार पत्ती, सबै फरक चिह्नका: 9♠︎9♥︎9♦︎। उही चिह्नका दुई पत्ती एउटै ट्रायलमा बस्दैनन्। खाली ठाउँमा जोकर चल्छ।

डब्ली

उही-उही दुइटा पत्ती: 5♦︎5♦︎। डब्लीको काम तल भनिएको डब्लीको बाटोमा मात्र हुन्छ।

माल हेर्ने र देखाउने

माल हेर्न हातबाट यीमध्ये एउटा देखाउनुपर्छ:

  • तीन प्योर सेट (प्योर सिक्वेन्स वा टनेला; टेबलमा बसिसकेका टनेला पनि गनिन्छन्), वा
  • सात डब्ली।

देखाएका पत्ती सबैले देख्ने गरी टेबलमा बस्छन् र गेम नसकिएसम्म त्यहीँ रहन्छन्।

कहिले हेर्न पाइन्छ:

  • गेमको आफ्नो पहिलो पालोमा, पत्ती तान्नुअघि नै हेर्न पाइन्छ।
  • त्यसपछि पहिले तान्नुपर्छ। तानेपछि, वा फालेलगत्तै अर्को खेलाडीले नतानुन्जेल, हेर्न पाइन्छ।

टिप्लु थाहा पाउने, जोकर चलाउने र गेम गर्ने काम माल हेरेकाले मात्र पाउँछ।

टिप्लु र जोकर

सबैभन्दा पहिले माल हेर्नेले गड्डी आफूले रोजेको ठाउँमा काट्छ। त्यहाँको पत्ती टिप्लु हुन्छ र खेलबाट बाहिरिन्छ। त्यसैले हातमा बढीमा दुइटा मात्र टिप्लु पर्न सक्छ। काटेको ठाउँमा छापिएको जोकर पर्‍यो भने त्यसको मुनिको पत्ती लिइन्छ।

77झिप्लु88टिप्लु99पप्लु88अल्टर88जोकर88जोकर
पानको 8 टिप्लु निस्क्यो भने यी पत्ती जोकर हुन्छन्। पहिला चारवटाले मालको पोइन्ट पनि दिन्छन्।
  • टिप्लु: निस्केको पत्तीकै अरू जोडी।
  • पप्लु: टिप्लुभन्दा एक माथि, उही चिह्न। बादशाहभन्दा माथि एक्का।
  • झिप्लु: टिप्लुभन्दा एक तल, उही चिह्न। एक्काभन्दा तल बादशाह।
  • अल्टर: टिप्लुकै नम्बर, उही रङको अर्को चिह्न।
  • जोकर: टिप्लुकै नम्बर, अर्को रङका दुई चिह्न। जोकरको काम गर्छ, पोइन्ट हुँदैन।
  • म्यान: माल हेरेपछि जोकर, पोइन्ट पनि दिन्छ।
  • सुपरम्यान: सधैँ जोकर, 10 पोइन्ट।

जोकरले सिक्वेन्स वा ट्रायलमा जुनसुकै पत्तीको ठाउँ लिन्छ। आफ्नै साधारण पत्तीका रूपमा पनि चल्छ। तीन वा बढी जोकर मात्रैको पनि सेट बन्छ। टिप्लु, पप्लु र झिप्लु सँगै परे म्यारिज हुन्छ, गेमको नाम त्यहीँबाट आएको हो। कुन पत्तीको कति पोइन्ट, पोइन्टको पेजमा छ।

डब्लीको बाटो

सात डब्ली देखाएर माल हेर्ने खेलाडीका लागि तीन कुरा फरक हुन्छ:

  • हातमा 7 पत्ती बाँकी रहन्छन्, र आठौँ डब्ली बनेपछि गेम हुन्छ।
  • फालेको पत्तीबाट जोकर टिप्न पाइँदैन।
  • उसले गेम गर्‍यो भने सबैले 5 पोइन्ट थप तिर्छन्। अरू कसैले गेम गर्‍यो भने डब्ली खेलाडीले 0 तिर्छ।

गेम गर्ने

माल हेरेको खेलाडीले आफ्नो पालोमा, पत्ती तानेपछि, यस्तो एउटा पत्ती फाल्छ जसपछि हातका बाँकी सबै पत्ती सेटमा मिल्छन्। हेरेपछि 12 पत्ती बाँकी हुने भएकाले प्रायः तीन-तीनका चार सेट बन्छन्। लामो सिक्वेन्स वा चार पत्तीको ट्रायल पनि चल्छ, एउटा पनि पत्ती बाँकी रहनु भएन। भर्खर टिपेको पत्ती फालेर गेम गर्न पाइँदैन।

गेम भएलगत्तै सबैका पत्ती खुल्छन् र हिसाब हुन्छ।

कसैले गेम गरेन भने

गड्डी सकियो भने फालेका पत्ती (माथिको एउटा बाहेक) फिटेर नयाँ गड्डी बनाइन्छ। यो एक गेममा एक पटक मात्र हुन्छ। गड्डी फेरि सकियो भने गेम कसैको हुँदैन र कसैले पोइन्ट पाउँदैन। साथीको टेबलमा टेबल खोल्नेले गेम बीचमै रोक्दा पनि यस्तै हुन्छ।

नहेरेकाको माल: मर्डर वा किड्न्याप

  • मर्डर (सुरुको नियम): नहेरेकाको माल गनिँदैन।
  • किड्न्याप: नहेरेकाको माल गेम गर्नेले पाउँछ।

साथीको टेबलमा टेबल खोल्नेले नियम छान्छ। जुन नियम भए पनि नहेरेकाले गेम गर्नेलाई 10 पोइन्ट तिर्नुपर्छ।